नवरात्रको आज आठौँ दिन महाअष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै
कार्तिक १, पोखरा – दशैँ एवं नवरात्रको आठौँ दिन आज महाअष्टमी दशैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । हरेक वर्ष असोज शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन गएको असोज २५ गते आइतबार दशैँ घर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको ठाउँमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो ।
दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र हिजो सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । हिजो दशैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्ति पीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।





प्रतिकृया दिनुहोस